महिलाको स्तन क्यान्सरका कारणहरु

1616

सकुशल स्वास्थ्य खवर ….. 
काठमाडौं, ७ पुस । महिलालाई बढी स्तन क्यान्सर हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानैसमेत गुमाउनुपरेको छ। स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने ? प्रस्तुत छ– नागरिक दैनिककी पवित्रा सुनारले ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका वरिष्ठ स्तन क्यान्सर सर्जन डा. कपेन्द्रशेखर अमात्यसँग गरेको कुराकानीः
धेरै महिलालाई स्तन क्यान्सर छ भन्ने सुनिन्छ, यथार्थ के हो ?
हामीकहाँ यो बढेको छ या छैन भन्ने विषयमा एकिन अध्ययन भएको छैन। नेपालमा यसको अभिलेख राख्ने काम भएको छैन। सरकारले हालै यसको अध्ययन सुरु गरेको छ। अस्पतालमा आउने बिरामी भने बढेका छन्। उपचारमा आउने विरामीको संख्या प्रतिवर्ष दुई हजारदेखि तीन हजारसम्म छ। अन्तराष्ट्रिय संस्था ग्लोबोकनले विश्वभरको आँकडा निकाल्छ। उसले नेपालमा प्रतिवर्ष पाँच हजार जना स्तन क्यान्सरका बिरामी हुने गरेको तथ्यांक निकालेको छ।
तपाईंको अनुभवमा स्तन क्यान्सर बढेको हो ?
अस्पतालको तथ्यांक हेर्ने हो भने बढेको देखिन्छ। पहिला प्रतिवर्ष स्तन क्यान्सरको समस्या लिएर १ हजार ५ सय जना मात्र आउँथे। अहिले तीन हजार जनासम्म आउँछन्। तर उपचारमा आउने चलन बढेको हो या बिरामी नै बढेका हुन् बिनाअध्ययन भन्न गाह्रो छ।

स्तन क्यानसरका रोगी कुन अवस्थामा अस्पताल आइपुग्छन ?
पहिला स्तन दुखेपछि वा स्तनबाट रगत निस्केपछि मात्र अस्पताल आउँथे। अहिले सामान्य गिर्खा आए पनि आउँछन्। कोही स्तनबाट रगत बगेमा या घाउ दुखेपछि पनि आउँछन्। अहिले स्तनमा कुनै शंका लाग्यो कि उपचारमा आउने चलन बढेको छ। तर गाउँबाट अहिले पनि ढिला गरी उपचारमा आउने धेरै छन्।

स्तन क्यान्सर हुनाको कारण ?
स्तन क्यान्सर हुने धेरै कारण छन्। अन्तर्रा्ष्ट्रिय अनुभव तथा अध्ययनका आधारमा भन्ने हो भने स्तन क्यान्सर हुनुमा ढिला बच्चा पाउने, मद्यपान, धूमपान गर्ने, मोटोपना भएका तथा स्तनपान कम गराउने महिलामा स्तन क्यान्सर हुन्छ। हामीकहाँ ठ्याक्कै के कारणले स्तन क्यान्सर भएको हो भन्ने कुरा पत्ता लागेको छैन। नेपालमा स्तन क्यान्सरको अवस्था विदेशी अध्ययनका आधारमा एकिन गर्न सकिँदैन। नेपालको सन्दर्भमा सानै उमेरमा विवाह हुन्छ, बच्चा बढी जन्माउने गर्छन्, स्तनपान गराइरहेका हुन्छन्। तैपनि स्तन क्यान्सर भइरहेको हुन्छ।

त्यसोभए नेपाली महिलामा हर्मोन प्रयोग बढी भएको हो कि ?
हामीकहाँ परिवार नियोजनका अस्थायी साधन तीन महिने सुईको प्रयोग बढी भएको देखिन्छ। यसका कारण पनि स्तन क्यान्सर भएको हुन सक्छ। हाम्रो समाजमा एउटी महिलाले आफ्नो प्रजनन जीवनमा यसको प्रयोग लामो समयसम्म गरेको देखिन्छ। यो सुईमा स्ट्रोजिन भन्ने हर्मोन बढी हुन्छ। यसले स्तन क्यान्सरको जोखिम बढाउँछ।

हाम्रो देशमा स्तन क्यान्सर हुने क्रम कस्तो छ ?
विकसित मुलुकमा आठ महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुन्छ। तर भारत र नेपालमा २० महिलामध्ये एक जनालाई हुन्छ। हामीकहाँ कम छ। तर समस्या फरक छ। विकसित मुलुकमा ५० देखि ६० वर्षसम्मको उमेरमा स्तन क्यान्सर भएको देखिन्छ। तर नेपालमा बढी स्तन क्यान्सर हुने महिला ४० देखि ५० वर्ष सम्मका छन्। हामीकहाँ स्तन क्यान्सर एक त कम उमेरमा धेरै भयो, अर्को ४० देखि ५० प्रतिशतसम्म स्तन क्यान्सर अहिले पनि ढिला गरी पत्ता लाग्छ। यो भनेको तेस्रो या चौथो चरण हो।

विकसित देशमा ६० देखि ७० प्रतिशतसम्म स्तन क्यान्सरको प्रारिम्भक चरणमै उपचार हुन्छ। समग्रमा कम उमेरमा स्तन क्यान्सर हुने र ढिला गरी उपचारमा पुग्ने प्रवृत्ति अहिले पनि कायमै छ हाम्रोमा। सहरमा बढी छन्। अझ हाम्रो अस्पतालमा मात्र हेर्ने हो भने ३० देखि ४० वर्षसम्म उमेरमा स्तन क्यान्सर हुने बिरामी २० देखि ३० प्रतिशतसम्म छन्।

त्यसोभए हाम्रो देशमा स्तन क्यान्सर हुनाको कारण पनि फरक छ ?
अहिलेसम्म खास अध्ययन भएको छैन। स्तन क्यान्सर हुने महिलाको स्थिति हेर्दा यसको बारेमा अध्ययन नै गर्न जरुरी छ। हर्मोनजन्य परिवार नियोजनका साधन बढी प्रयोग गर्नु। प्रजनन उमेरकी महिलाले आफ्नो जीवनकालमा कम्तीमा १२ देखि १५ वर्षसम्म हर्मोनयुक्त साधन प्रयोग गरेको देखिन्छ। तीन महिने सुई, पाठेघरमा राख्ने कपर्टीजस्ता साधन बढी प्रयोग गर्छन्।

स्ट्रोजन हर्मोन कति लामो अवधि प्रयोग भएमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ ?
स्तन क्यान्सरको अर्को कारक तत्वमा १२ वर्षको उमेरभन्दा अघि नै महिनावारी सुरु हुने र ५० वर्षभन्दा पछि महिनावारी बन्द हुने। यो भनेको शरीरमा स्ट्रोजन भन्ने हर्मोनको प्रभाव नै हो। त्यसैले जति लामो समय शरीरमा यसको प्रभाव रहन्छ त्यति नै स्तत क्यान्सरको जोखिम बढ्छ। जस्तो कि १२ वर्षमा महिनावारी भयो र ३० वर्षमा बच्चा पायो भने १९ वर्ष शरीरमा यो रह्यो। जब हामी बच्चालाई दूध खुवाउँछौं तब शरीरमा स्ट्रोजन हर्मोन शून्य हुन पुग्छ। त्यो भनेको स्ट्रोजनको प्रभावबाट मुक्त भएको अवस्था हो। एक प्रकारले यसको प्रभाव कम हुन जान्छ। यो प्रक्रिया भनेको शरीरको पुनःसंरचनाजस्तो पनि हो। त्यसैले हामीले ३० वर्षभन्दा पहिला नै बच्चा जन्माउनु राम्रो भन्ने गरेका हौं।

त्यसोभए एउटी महिलाले यो हर्मोनको प्रभाव घटाउन कतिपटक बच्चा जन्माउन जरुरी छ त ?
कम्तीमा एकपटक बच्चा जन्माउनुप(यो। बच्चा जन्माएपछि केही समयसम्म उक्त हर्माेनको प्रभावबाट मुक्त भइन्छ। बच्चा जन्माएनौं भने यसको प्रभाव लगातार परिरहेको हुन्छ। यसले गर्दा स्तन क्यान्सर हुने सम्भावना बढ्न जान्छ।

भनेपछि ३० वर्षभन्दा पहिला एउटा भए पनि बच्चा जन्माइसक्नु प(यो हैन त ?
हो, एउटा भए पनि जन्माउनु पर्छ।

एउटा मात्र बच्चा जन्माउँदा जुन खाली समय रहन्छ, त्यसले क्यान्सरको सम्भावना हुँदैन ?
बच्चा जन्मिएर स्तनपान गराउनेबित्तिकै स्ट्रोजन हर्मोन शून्यमा झरेको हुन्छ। त्यो हुनु भनेको क्यान्सरको जोखिम स्वतः घटेर जानु हो र ४५ वर्षको उमेरमा महिनावारी रोकियो भने त स्ट्रोजन हर्मोन रहने भएन नि !

ढिला विवाह गरेका, ढिला बच्चा जन्माएका, स्तनपान नगराएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ भन्नुभयो। तर यी सबै समयमै गरेकालाई पनि स्तन क्यान्सर भएको देखिन्छ नि ?
त्यसैले हामी भन्छौं, जति हामीले कारक तत्व पत्ता लगाएका छौं, यसले २० देखि ३० प्रतिशत मात्र स्तन क्यान्सरको तथ्यांकलाई समेट्छ। बाँकी अरू ७० प्रतिशत स्तन क्यान्सरको कुनै एकिन कारण पत्ता लगाउन सकिएको छैन। पाँच प्रतिशत स्तन क्यान्सर वंशाणुगत कारणले हुन्छ।

धेरै बिरामी अहिले पनि ढिला गरी उपचारमा पुग्छन् भन्नुभयो, त्यस्ता बिरामाी पूरै निको हुन्छन् या हुँदैनन् ?
स्तन क्यान्सर प्रारिम्भक अवस्थामै पत्ता लगाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो। पहिलो चरणमा पत्ता लागेका बिरामी सय प्रतिशत निको हुन्छन्। तर दोस्रो चरणमा पुगेका ८० प्रतिशत निको हुन्छन् भने तेस्रो चरणमा पुगेका ६० प्रतिशत निको हुन्छन्। स्टेज चारमा पुगेका बिरामी १० देखि १५ प्रतिशतसम्म मात्र निको हुन्छन्। बाँकीको मृत्यु हुन्छ।

जुनसुकै चरणमा पुगे पनि स्तन क्यान्सरका बिरामीले आफ्नो अंग गुमाउनु पर्छ नि ?
अहिले सबै अवस्थामा पूरै स्तन काट्नुपर्ने अवस्था छैन। जस्तो कि ४० देखि ५० प्रतिशतसम्म बिरामीका स्तन जोगाएर शल्यक्रिया गर्छौं र त्यसको सौन्दर्य पनि कायमै राख्छौं। स्तनका आकार, सेप र संवेदनशीलता तीनै कुरालाई कायम राखेर शल्यक्रिया गर्छौं। चाहेमा शरीरका अन्य अंगबाट तन्तु लिएर पुनःसंरचनासमेत गरिदिन्छौं। त्यसरी शल्यक्रिया गर्नेहरू आठरदश जना भइसके।

स्तन क्यान्सरकै कारण जीवन गुमाउने कति छन् ?
हिलाभन्दा अहिले केही घटेको छ। अहिले पनि प्रतिवर्ष पाँच सय जनाले स्तन क्यान्सरकै कारण ज्यान गुमाउनुपरेको छ।

स्तन क्यान्सर हुँदैछ भनेर आफैंले कसरी थाहा पाउने ?
यो पत्ता लगाउने तीन आधार छन्। पहिलो, घरमै पत्ता लगाउन सकिन्छ। हरेक महिना आफ्नो स्तन परीक्षण गर्ने। किनभने आफ्नो स्तनको जानकारी जति आफूलाई हुन्छ त्यति अरूलाई थाहा हुँदैन। हरेक महिनावारी भएको पाँच दिनपछि चेक गर्ने किनभने यो अवस्थामा जति स्तन कमलो हुन्छ त्यति अरू बेला हुँदैन। महिनावारी रोकिइसकेका दिदीबहिनीले महिनाको एकपटक आफ्नो स्तन छाम्ने। हरेक महिना छाम्दा सानो परिवर्तन पनि थाहा हुन्छ। जतिबेला जाँच ग(यो भने स्तन क्यान्सर जिरो स्टेजमै पत्ता लाग्छ। कहिलेकाहिँ आफूले मात्र छामेर गिर्खा पत्ता नलाग्न पनि सक्छ। तसर्थ हरेक वर्ष एकपटक स्वास्थ्यकर्मीकहाँ गएर स्तन जाँच गराउने। अझ सकिन्छ भने ४० वर्षभन्दा माथिका दिदीबहिनीले वर्षमा एकपटक मेमोग्राम गर्ने या मेमोग्राम नभएका ठाउँमा भिडियो–एक्सरे गर्ने। यी तीन कुरालाई नियमित अनपाउँदै गयौं भने सुरुकै अवस्थामा क्यान्सर पत्ता लाग्छ।

स्तन क्यान्सर भएका बिरामी कुन अवस्थामा अस्पताल आउने गरेका छन् ?
धेरैजसो गिर्खा लिएर आउँछन्। दस वर्षअघि टिचिङ अस्पतालका चिकित्सकले अध्ययन गर्दा स्तनको गिर्खाको साइज पाँच सेन्टिमिटरभन्दा ठूलो भइसकेपछि मात्र आउँथे। त्यो भनेको दोस्रो तहको क्यान्सर हो। तर अहिले गरेको अध्ययनअनुसार यो आकार दुई सेन्टिमिटरको देखिन्छ। यो भनेको पहिलो र दोस्रो चरणको अवस्था हो। यो अध्ययनमा सहरी भेगका मानिस बढी छन्। यो अध्ययन अझ गाउँलाई केन्द्र बनाएर गर्ने हो भने अहिले पनि धेरै बिरामी तेस्रो र चौथो तहको क्यान्सर लिएर आउँछन्।

स्तन क्यान्सरका मुख्य लक्षणहरू के–के हुन् ?
स्तन क्यान्सरको लक्षण स्तनमा गिर्खा आउनु मात्र हैन। स्तनको मुन्टा गाडिँदै जानु, मुन्टाबाट पिप र रगत आउनु, स्तनको रंग परिवर्तन हुनु, स्तनमा खोपिल्टा हुनु, स्तनको आकारमा परिवर्तन आउनु, स्तनमा गिर्खा हुनु सबै स्तन क्यान्सरका लक्षण हुन्। फेरि यसो भन्दैमा यी लक्षण हुँदैमा स्तन क्यान्सर नै भएको हुन्छ भनेर भन्न सकिँदैन।स्तनमा आउने ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैनन्। यसकारण गिर्खाकै आधारमा मात्र क्यान्सर हो भनेर ठोकुवा गर्न सकिन्न। यदि स्तनमा कुनै पनि प्रकारका गिर्खा आएमा एकपटक चिकित्सककोमा परीक्षण गराएर मात्र क्यान्सर हो या हैन भन्ने एकिन गर्न सकिन्छ। अझ सकिन्छ भने स्तन क्यान्सर विशेषज्ञलाई नै देखाउने।

स्तन क्यान्सरको प्रारिम्भक लक्षण के हो ?
छातिमा नदुख्ने गिर्खा आउनु।

दोस्रो तहको क्यान्सरको लक्षण ?
स्तनमा गिर्खा आएर पनि आकार ठूलो भइसकेको छ भने दोस्रो चरणको क्यान्सर हो।

तेस्रो चरणको स्तन क्यान्सरको लक्षण नि ?
स्तनको गिर्खा काखीमा पनि आएको छ भने तेस्रो चरणको स्तन क्यान्सर हो।

चौथो चरणको ?
गिर्खा काखी छोडेर, फोक्सो, कलेजो तथा मस्तिष्कमा पुगेको छ भने त्यो चौथो चरणको स्तन क्यान्सर हो भनेर बुझिन्छ। प्रायः स्तन क्यान्सर फैलिएपछि कलेजो, फोक्सो, मस्तिष्क र हड्डीमा जान्छ।

पुरुषमा पनि स्तन क्यान्सर हुन्छ ?
कति पुरुषलाई स्तन क्यान्सर हुन्छ ?
कुल स्तन क्यान्सरको एक प्रतिशत पुरुषलाई हुन्छ। नेपालका स्तन क्यान्सरका तीन हजार रोगीमध्ये प्रतिवर्ष करिब ५० पुरुषलाई स्तन क्यान्सर हुन्छ।

पुरुषको स्तनमा पनि गिर्खा आउँछ त ?
गिर्खा आउँछ तर पुरुषको स्तनको आकार महिलाका तुलनामा अत्यन्त सानो हुने भएकाले गिर्खा पनि सानै हुन्छ। जस्तो कि दुई सेमिको स्तनको गिर्खा महिलामा पहिलो चरणको हुन्छ भने त्यही गिर्खा पुरुषमा चौथो चरणको हुन सक्छ। स्तन सानो हुने भएकाले त्यहाँबाट छालामा सर्ने सम्भवाना छिटो हुन्छ। त्यसकारण पुरुषहरूले स्तनमा कुनै पनि किसिमका गिर्खा आएमा तुरुन्त परीक्षण गराइहाल्नुपर्छ।

पुरुषमा स्तन क्यान्सर हुनाको कारण ?
परिवारका दुईरतीन जनालाई क्यान्सर भएको छ भने त्यस्तो पुरुषको जिन परीक्षण गरिन्छ। जिन परीक्षण गर्दा पोजिटिभ भएमा पछि गएर स्तन क्यान्सर हुन सक्छ। यसैले कुनै पनि पुरुषलाई स्तन क्यान्सर भयो भने यो परीक्षण गर्छौं।

स्तन क्यान्सर भएका पुरुष कुन अवस्थामा उपचारमा आइपुग्छन् ?
प्रायः स्तनमा घाउ भइसकेपछि अर्थात् क्यान्सर तेस्रो चरणमा प्रवेश गरिसकेपछि मात्र अस्पताल आएको देखिन्छ।

उपचार सम्भव छ ?
उपचार विधि उस्तै हुन्। मुख्य कुरा, पुरुषको स्तन क्यान्सर ढिला गरी पत्ता लाग्ने भएकाले उपचार गर्न पनि कठिन हुन्छ। सबै उपचारको राम्रो परिणाम आउँदैन।

कुनै पनि पुरुषले स्तन क्यान्सरबाट बच्न के गर्ने त ?
पुरुषले पनि स्तनमा कुनै पनि गिर्खा छ कि भनेर आफैं परीस्क्षण गर्ने। नुहाउने बेलामा आफ्नो स्तन परीक्षण गर्न सक्छन्। र, वर्षमा एकपटक चिकित्सककहाँ गएर स्तन परीक्षण गराउनुपर्छ।

कुन उमेरका पुरुषलाई स्तन क्यान्सर हुन्छ ?
पुरुषहरूमा ढिलो उमेरमा देखिएको छ। लगभग ५० देखि ६० वर्षसम्मका पुरुषमा स्तन क्यान्सर भएको देखिन्छ।

नेपालमा स्तन क्यान्सर उपचारको अवस्था कस्तो छ ?
नेपालमा स्तन क्यान्सरको उपचारलाई दुईरतीन भागमा विभाजन गर्नुपर्छ। बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर, टिचिङ अस्पताल महराजगन्ज, भक्तपुर क्यान्सर अस्पताल सबैमा स्तन क्यान्सर परीक्षण र प्रारम्भिक उपचार हुन्छन्। जटिल बनिसकेको क्यान्सरको उपचार भने भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पतालमा हुन्छन्।

उपचार कतिको खर्चिलो छ ?
सुरुकै अवस्थामा पत्ता लाग्यो भने खर्चिलो छैन। कम पैसामै राम्रो उपचार गर्न सकिन्छ। केही वर्ष पहिले हामीले सरकारलाई १० किसिमका क्यान्सर उपचारका लागि गाइडलाइन बनाएर दिएका थियौं। त्यसमा हामीले राखेको प्रावधानअनुसार सर्वसाधारण नेपालीले सरकारी सहुलियतसहित आफ्नो खर्चले उपचार गर्न सम्भव छ।

क्यान्सर उपचारमा चुनौति चाहिँ के छ ?
सबै सेवा एकै संस्थामा भएको अवस्था छैन। क्यान्सर भइसकेपछि एक ठाउँबाट अर्को ठाउँमा छिटो फैलिन्छ। रेडियोथेरापी एउटा अस्पतालमा, किमो अर्कोमा अनि सर्जरी अर्को अस्पतालमा गर्नुपर्ने अवस्थाले उपचारमा ढिलाइ हुनाका साथै खर्चिलो पनि हुने गरेको छ। सकेसम्म क्यान्सरको उपचार एउटै छानामुनिबाट हुने व्यवस्था गर्नु जरुरी छ। नागरिक अनलाइनवाट