मुलुकभरमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ जना पुग्यो, उपत्यकामा एकै दिन ३२ जना भेटिए

74

सकुशल खवर.. 
२०७७, असार, १८ काठमाडौं । मुलुकभरमा बितेको २४ घण्टामा नयाँ थप १०९ महिला र ३६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कूल संख्या १४ हजार ५१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ ।
हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै आइसोलेसना १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।

हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।