Sakushal

21st June 2024

सकुशल २०८० जेठ २४ गतेnurse
काठमाडौँ, २४ जेठ । भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरी अस्पतालमा कार्यरत नर्स पक्राउ परेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका हुन ।
पक्राउ परेका महिला प्रहरी सेवाकी सई दर्जाकी नर्स लक्ष्मी महर्जन हुन्। उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको पाइएको छ।

कसरी ठगी प्रकरणमा जोडिन् नर्स लक्ष्मी ?
यो ठगी प्रकरणमा भीआईपी व्यक्तिहरुको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ। पूर्वउपप्रधानमन्त्री तथा सांसददेखि गृहमन्त्रीदेखि, सचिवसम्म पक्राउ परेको यो प्रकरणमा प्रहरीकी नर्स कसरी जोडिन् भन्ने प्रश्न तेर्सिएको छ। खासमा यो प्रकरणमा लक्ष्मी पक्राउ पर्नुमा उनका श्रीमानको मुख्य भूमिका रहेको अनुसन्धान अधिकारीहरु बताउँछन्। लक्ष्मीका श्रीमान् हरिभक्त महर्जन हुन्।

हरिभक्त पनि यो ठगी प्रकरणमा पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन्। हरिभक्त सहकारीमा काम गर्थे। हरिभक्तका मिल्ने साथी हुन् टोखाका हरिशरण केसी। पहिला आफू समेत पीडित भएको बताउने केसीलाई समेत प्रहरीले पक्राउ परेको थियो। उनी आफू पनि अमेरिका जान खोज्ने र अन्य मान्छे खोजेर रकम समेत उठाउने काम गरेको पाइएपछि हरिशरण पक्राउ परेका थिए।

अमेरिका पठाउने भन्दै आफ्ना साथीहरुबाट समेत रकम उठाएर हरिशरणले तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकलाई दिएका थिए। अमेरिका पठाउने भन्दै रकम उठाएर लेनदने गर्ने क्रममा हरिशरणले हरिभक्तको बैंक खाता पनि प्रयोग गरेको अनुसन्धानका क्रममा खुल्यो। पछि हरिभक्तमार्फत उनकी श्रीमती लक्ष्मीको पनि बैंक खाता प्रयोग भएको देखियो।

ठगीको रकम कारोबार गर्न बैंक खाता प्रयोग भएको देखिएपछि सई लक्ष्मी पनि अनुसन्धानको दायरामा आइन्। यो अनुसन्धान हुन्जेलसम्म प्रहरीले उनलाई पक्राउ गरेन्। अनुसन्धान सकेर फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु (श्रीमान्–श्रीमती) उपस्थित भएका थिए।

खाता प्रयोग भएकै आधारमा उनीहरुविरुद्ध अहिले राज्यविरुद्धको कसुर, कीर्ते, ठगी, संगठित ठगी र एकीकृत कसुरको सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको छ।

यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको अहिले १८ जना प्रहरी हिरासतमा छन्। उनीविरुद्ध सरकारी वकिल कार्यालय र पीडित पक्षका निजी वकिलहरुले मंगलबार बहस सकाएका छन्। बुधबारदेखि प्रतिवादीहरुका तर्फबाट बहस सुरु भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपोनको इजलामा थुनछेक बहस भइरहेको छ। प्रतिवादीहरुका वकिललाई न्यायाधीश पौडेलले ६ दिनको समय दिएका छन्। त्यसपछि आदेश गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *