Sakushal

6th February 2025

सकुशल स्वास्थ्य समाचार

काठमाडौँ, २०८० जेष्ठ २८ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल अनुसार कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी घोषणा गरिन्छ ।

सोही प्रोटोकल अनुसार गत पुसमा बाँकेको नेपालगञ्जमा दादुरा महामारीको घोषणा गरिएको थियो। पाँच वटा नमूनामध्ये चार जना बिरामीमा दादुरा पुष्टि भएपछि पुसको तेस्रो साता सरकारले बाँकेमा दादुराको आउटब्रेक अर्थात् महामारी भएको घोषणा गरेको थियो।
सोही प्रोटोकल अनुसार गत पुसमा बाँकेको नेपालगञ्जमा दादुरा महामारीको घोषणा गरिएको थियो। पाँच वटा नमूनामध्ये चार जना बिरामीमा दादुरा पुष्टि भएपछि पुसको तेस्रो साता सरकारले बाँकेमा दादुराको आउटब्रेक अर्थात् महामारी भएको घोषणा गरेको थियो।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार हालसम्म १६ वटा जिल्लामा गरी ९५१ जना दादुराका बिरामी भेटिएका छन्। दादुरा देखिएका जिल्ला हुन्, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सर्खुेत र काठमाडौं।

यी १६ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै बिरामी पुष्टि भएका थिए। बाँकेमा मात्र ३२९ जना बिरामी भेटिएका थिए। जसमध्ये एक जनाको मृत्यु पनि भएको थियो।

महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषा र कपिलवस्तुमा २३÷२३, बाजुरमा १८, अर्घाखाचीमा ११ र काठमाडौंमा ४ जनामा दादुरा पुष्टि भएका छन्।

दादुरा रुबेला विरुद्धको खोप ९ र १५ महिनामा लगाउनुपर्छ। पहिलो मात्रा ९ र दोस्रो मात्रा १५ महिनामा लगाउनुपर्छ। सरकारले यो खोप निःशुल्क रुपमा उपलब्ध गराउँछ। दादुराबाट बच्न खोपको दुवै मात्रा पुरा गर्नुपर्छ।

९५१ जनामध्य अधिकांशले खोप नलगाएका र मात्रा पुरा नगरेका बालबालिकामा दादुरा देखिएको खोप शाखामा जनस्वास्थ्य अधिकृत बसन्तकुमार श्रेष्ठले बताए। दादुरा रोग अत्यन्तै संक्रामक भएकाले यसबाट बच्न खोपको दुवै मात्रा पुरा गर्नुपर्ने श्रेष्ठले बताए।

उनले भने, ‘यो दादुरा एकदमै संक्रामक हुन्छ। कोभिडभन्दा पनि पाँच गुणा बढी संक्रामक हो। एक जनाले १८ जनासम्मलाई सार्न सक्छ।’

दादुराको खोप भण्डारण गर्दा र लगाउँदा तापक्रमलाई मिलाउन नसक्दा पनि खोपले राम्रोसँग काम नगर्ने उनले बताए। यस्तै प्राविधिक समस्याले गर्दा खोप लगाएका बालबालिकामा पनि दादुरा देखिने गरेको उनले बताए।

दादुरा पुष्टि भएका कुल बालबालिकामध्ये २३ महिनाभन्दा माथिका ७८ प्रतिशत अर्थात् ७३८ जना रहेको महाशाखाको तथ्यांक छ। ९ महिनाभन्दा मुनिका ९७ (१०.२५ प्रतिशत) र ९ देखि २३ महिनाका १११ (११.७३ प्रतिशत) बालबालिका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *